निरञ्जना माध्यमिक विद्यालयको ऐतिहासिक सफलता : SEE २०८१ मा १००% नतिजा


  • दिव्यदर्शन
  • आइतबार, असार २२ २०८२
  • पढ्न लाग्ने समय 3 मिनेट

धादिङ,
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं. १ मा अवस्थित निरञ्जना माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा विद्यालयको इतिहासमै पहिलोपटक सत प्रतिशत (१००%) सफलता हासिल गरेको छ।

यस वर्ष विद्यालयबाट साधारण धारतर्फ ३५ जना र प्राविधिक धारतर्फ ८ जना गरी कुल ४३ जना विद्यार्थी SEE परीक्षामा सहभागी भएका थिए। प्रारम्भिक नतिजा अनुसार ४२ जना विद्यार्थी उत्तीर्ण भएका थिए भने १ जना विद्यार्थी — प्राविधिक धारकी सुहाना अधिकारीको नतिजामा त्रुटि देखिएको थियो।

सुहानाले सामाजिक विषयमा परीक्षा दिएको भए पनि प्रारम्भिक नतिजामा उनको विकल्पिक गणित (Optional Math) विषयमा Absent देखाइएको थियो। विद्यालयले त्रुटिको विषयमा आवश्यक प्रमाणसहित राष्ट्रिय परीक्षा बोर्ड (NEB) मा निवेदन दर्ता गरेपछि विषय सच्याएर पुनः नतिजा प्रकाशित गरिएको थियो। संशोधित नतिजामा सुहाना अधिकारी ३.३४ GPA सहित उत्तीर्ण भएकी छन्।

उक्त नतिजासँगै विद्यालयले पहिलो पटक १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। विद्यालयका प्रधानध्यापक बिकास थापा मगरले यो सफलता सम्पूर्ण विद्यालय समुदायको मेहनत र समर्पणको परिणाम भएको बताए।

विद्यालय प्रशासनले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानिय समुदायलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक गुणस्तर कायम राख्ने प्रतिवद्धता व्यक्त गरेको छ।

यसैबीच, गत असार १३ गते सार्वजनिक भएको SEE २०८१ को नतिजामा नेत्रावती डबजोङ गाउँपालिका धादिङका १३ स्थानीय तहमध्ये जिल्ला प्रथम बन्न सफल भएको थियो, जसले गर्दा गाउँपालिकाको शैक्षिक पहिचान थप मजबुत बनाएको छ।

यस उपलब्धिलाई सम्मान गर्दै विद्यालयले एक विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा SEE 2081 मा १००% सफलता हासिल गर्ने ४३ जना विद्यार्थीहरूलाई मायाको चिनो र प्रशंसा पत्रसहित बधाई तथा सम्मान प्रदान गरिएको थियो। साथसाथै, उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई विषयगत शिक्षकहरूले जनही रु १०००/- नगद पुरस्कार प्रदान गर्दै थप प्रोत्साहन गरिएको थियो।

पालिका प्रथम हुने छात्र अदिप पन्तविद्यालय द्वितीय हुने छात्र शिवाज पन्तलाई पूर्व शिक्षक, समाजसेवी तथा लेखा परीक्षण समिति सदस्य आदरणीय काजिराम अधिकारीज्यूबाट क्रमशः रु २०००/- र रु १०००/- नगद पुरस्कार प्रदान गरी थप शैक्षिक उन्नतिको कामना गरिएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले यो सफलता सम्पूर्ण विद्यालय समुदायको संगठित प्रयास र समर्पणको परिणाम भएको बताए। उनीहरूले शिक्षक तथा कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्दै SEE मा उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरूलाई समेत मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए।

प्रमुख तथा विशेष अतिथिहरूले आगामी वर्षहरूमा पनि यस्तै प्रेरणादायी सफलता हासिल गर्न गाउँपालिका स्तरमै शिक्षकहरूलाई सम्मानित गर्ने कार्यक्रम आयोजना गरिने घोषणा समेत गरेका छन्।विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री डोल बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य श्री वीरबहादुर तामाङ प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष श्री मेघनाथ रिजाल, उपाध्यक्ष श्री सिता माया चोदेन, प्रमुख प्रशासकीय अधिकृत श्री हरेराम शाह, वडा नं. १ अध्यक्ष तथा पालिका प्रवक्ता श्री ठाकुर गुरुङ, शिक्षा अधिकृत श्री शुसिला ङ्याङ्जो लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web