धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिकाले एस.ई.ई. मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ।नगरपालिकाभित्रका नीजि तथा सामुदायिक विद्यालयबाट एसईईमा ४ जिपिए ल्याउने पाँच जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो।

बिहीबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई सम्मानपत्र र नगद प्रदान गरिँदा उनीहरूले यस्ता सम्मानले थप मेहनत गर्न प्रेरणा मिल्ने बताएका छन्। उत्कृष्ट विद्यार्थी मात्र नभई, शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल सामुदायिक विद्यालयलाई नगरपालिकाले शैक्षिक उन्नयनको लागि चार लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ।जिल्लाभर ८ जना विद्यार्थीले ४ जिपिए ल्याएकोमा तीमध्ये ५ जना नीलकण्ठ नगरपालिकाका विभिन्न विद्यालयबाट रहेका छन्। यस उपलब्धिलाई शैक्षिक सुधारको संकेतका रूपमा लिँदै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले भने, “नतिजा देखाउनुस्, पैसा लिन आउनुस्। त्यसै पैसालाई शैक्षिक सुधारमा लगानी गर्नुस्। हामी आवश्यक परेको सहयोग दिन तयार छौं।”

विद्यालयभित्रको आन्तरिक प्रतिस्पर्धा शैक्षिक उन्नयनको प्रमुख आधार भएको बताउँनुहुदै नगरप्रमुख ढुंगानाले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा राख्नुभयो ।कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भुमीलाल सुवेदी शर्माले नीलकण्ठ नगरपालिकाले देखाएको प्रतिबद्धता अन्य पालिकाका लागि पनि उदाहरणीय हुने बतायनुभयो । सम्मान कार्यक्रममा एसईई मात्र नभई अन्य शैक्षिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ।शैक्षिक समृद्धिको बाटोमा नीलकण्ठ नगरपालिकाले चालेको यो कदमले विद्यार्थी, अभिभावक र शिक्षक समुदायमा उत्साह थपेको छ। नगरपालिकाले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमको निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
