गजुरी, धादिङ ।
गजुरी गाउँपालिकाले न्यायिक समितिमा दर्ता हुने विवादहरूलाई वडा स्तरमै समाधान गर्न सकिने वातावरण तयार पार्ने उद्देश्यका साथ“विवादको साटो मेलमिलापको पाटो” भन्ने मूल नाराका साथ आठवटै वडामा वडा स्तरीय मेलमिलाप केन्द्र गठन गरेको छ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शर्मिला बिसुरालको अध्यक्षता र गजुरी गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्देश्य समुदायमै शान्तिपूर्ण रूपमा विवाद समाधान गर्ने संस्कार प्रवर्द्धन गर्नुका साथै न्यायिक समितिमा पर्ने विवादहरूको चाप घटाउनु रहेको छ। मेलमिलाप केन्द्रमार्फत स्थानीयस्तरमै समाधान खोजी गर्दा सामाजिक सद्भाव र सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।कार्यक्रममा न्यायिक समिति सदस्यहरू, सम्बन्धित वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सूचीकृत मेलमिलापकर्ताहरू, वडा सचिवहरू तथा स्थानीय कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गजुरी गाउँपालिकाले मेलमिलाप प्रणालीलाई थप प्रभावकारी बनाउने योजना अन्तर्गत समुदायमा अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको जनाएको छ।
