धादिङ ।
नीलकण्ठ नगरपालिकाले वैदेशिक रोजगारीको अवसर, चुनौती र नगरपालिका स्तरको सेवा प्रवाहबारे पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि एबम् उप प्रमुख दिपक विश्वकर्माले वैदेशिक रोजगारीको बढ्दो प्रवृत्तिले नगर क्षेत्रका युवाहरूलाई प्रत्यक्ष रूपमा असर गरेको उल्लेख गर्नुहुदै नगरपालिकाले यस क्षेत्रका समस्याहरू सम्बोधन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारी आवश्यक भए पनि यससँग सम्बन्धित जोखिम, शोषण र ठगीका घटनाहरू न्यून पार्न सशक्त र योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुभयो ।त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिकाले सञ्चालन गर्दै आएको सुरक्षित आप्रवासन सामी कार्यक्रमका विविध पक्षहरूबारे प्राविधिक जानकारी प्रस्तुत गर्नुभएको थियो । उहाँले कार्यक्रमअन्तर्गत आप्रवासनको तयारी गर्न लागेकाहरूलाई आवश्यक परामर्श सेवा, वैदेशिक रोजगारमा जाने प्रक्रिया, कागजातहरूको प्रमाणीकरण, श्रम सम्झौतामा प्रस्टता, साथै कानुनी सहायतासमेत प्रदान गरिँदै आएको बताउनुभयो ।त्यस्तै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले वैदेशिक रोजगारीको क्षेत्रमा पत्रकारहरूले निर्वाह गर्न सक्ने भूमिकामाथि प्रकाश पार्नुभयो । उहाँले सञ्चारमाध्यमले जनचेतना अभिवृद्धिमा योगदान गर्न सक्ने बताउँदै यस्ता कार्यक्रमहरूले पत्रकारहरूलाई यथार्थ विवरण बुझ्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा सहभागी पत्रकारहरूले वैदेशिक रोजगारीसम्बन्धी सरकारी तथा स्थानीय तहका कार्यक्रमहरूमा देखिएका कमजोरी, सूचनाको अभाव, गैरकानुनी दलालहरूको चलखेल, र सीपमूलक तालिमको न्यून उपलब्धताको विषयमा प्रश्न तथा सुझावहरू राखेका थिए । उनीहरूले श्रमिकको हक अधिकारको रक्षा र पुनः एकीकरण सेवाहरूलाई अझ प्रभावकारी बनाउन सञ्चारमाध्यमको सहकार्य आवश्यक रहेको बताएका थिए ।कार्यक्रम सञ्चालन जिल्ला कार्यक्रम संयोजक दिनेश दुवाडीले गर्नुभएको थियो । उहाँले कार्यक्रमको उद्देश्य, संरचना र आगामी योजनाहरूको संक्षिप्त जानकारी दिँदै पत्रकारहरूसँग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।कार्यक्रमले वैदेशिक रोजगारीसम्बन्धी गम्भीर बहस र सहकार्यको वातावरण तयार गरेको सहभागीहरूको भनाइ थियो ।
