धादिङमा हालसम्म ७ हजार २ सय ६६ किशोरीहरुलाई एचपीभी विरुद्धको खोप लगाइयो,


  • दिव्यदर्शन
  • शुक्रबार, माघ २५ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, २५ माघ ।

पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान धादिङमा जारी छ ।

जनस्वास्थ्य कार्यालय धादिङले १४ हजार ५ सय ७३ जना किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरेको हो । धादिङमा खोप अभियान दुई चरणमा सञ्चालन हुने छ ।

पहिलो चरणमा माघ २२ गतेदेखि नीलकण्ठ नगरपालिका, रुवीभ्याली गाउँपालिका, खनियावास गाउँपालिका, नेत्रावती डवजोङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन भईरहेको छ ।

जस अन्र्तगत विहिबारसम्म नीलकण्ठ नगरपालिकाका २ हजार ७ सय ६४, रुवीभ्याली गाउँपालिकाका ३ सय ६९, खनियाबास गाउँपालिकाका ४ सय ९९, नेत्रावती डवजोङ गाउँपालिकाका ३ सय ४४, गंगाजमुना गाउँपालिकाका ६ सय ७७, त्रिपुरासुन्दरी गाउँपालिकाका ७ सय ८९, ज्वालामुखी गाउँपालिकाका ८ सय ५० र सिद्धलेक गाउँपालिकाका ९ सय ७४ जना गरी ७ हजार २ सय ६६ किशोरीहरुलाई खोप लगाइएको छ । यी ८ पालिकामा २६ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै दोस्रो चरणमा फागुन १ गतेदेखि ५ गतेसम्म धुनिवेशी नगरपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालन हुने छ ।

जनस्वास्थ्य कार्यालय धादिङका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउँदै छ ।

जिल्लाका २ सय ४० विद्यालय खोप केन्द्र र ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र गरी ३ सय ३६ खोप केन्द्र मार्फत खोप लगाउँदै छ । अभियानमा ३ सय ३६ जना स्वाथ्यकर्मी र ६ सय ७२ स्वयंमसेविका परिचालन भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web