
धादिङ ।
आयाम इङलिस स्कुलमा तेक्वान्दो ग्रेडिङ भएको छ।आईतबार सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीमा रहेको स्कुलमा तेक्वान्दो डोजाङद्धारा पहिलो ग्रेडिङको आयोजना गरेको हो ।सहभागी कुल ६४ जना खेलाडीलाई ह्वाइट बेल्टबाट यल्लोे बेल्टमा ग्रेडिङ प्रदान गरिएको आयाम इङलिस स्कुलकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो ।

खेलाडीहरुलाई जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख एवम धादिङ जिल्ला तेक्वान्दो संघका संस्थापक रमेशमान तुलाधरले ग्रेडिङ प्रदान गर्नुभएको हो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका तुलाधरले नेपालमा तेक्वान्दो खेलको लोकप्रियता बढ्दै गएको बताउनुभयो । यो खेल हात र खुट्टा दुवैले खेलिने र एक प्रकारले पुर्ण शरिरको स्फूर्तिका लागि अभ्यास हुने बताउनुभयो ।विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले खेलकुदको माध्यमबाट आफु,आफ्नो परिवार, जिल्ला,प्रदेश र राष्ट्रलाई चिनाउन ठुलो भूमिका रहने बताउनुभयो ।उहाँले खेलाडी विधार्थी बाबु नानीहरुको बौद्धिक स्तर बृद्धि भई स्वास्थ्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।यस्तै विद्यालय प्रधानाध्यापक आश वहादुर गुरुङले खेलले अनुशासन र मर्यादाको पाठ सिकाउने बताउनुभयो ।कार्यक्रममा धादिङ जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष डेनिड वि।क, सहसचिव गौतम श्रेष्ठ,धादिङ जिल्ला भलिबल संघका सदस्य महेन्द्र ढुङ्गानाको आतिथ्यता रहेको थियो ।कार्यक्रममा खेलाडीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।खेलाडीहरुलाई स्कुलका ४ डान तेक्वान्दो प्रशिक्षक शालिकराम सिलवालले प्रशिक्षण गराउनुभएको थियो ।
source:Anil Achhami