काठमाडौँ — अहिले देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायु र अरब सागरबाट विकसित मौसमी प्रणालीको प्रभाव देशभर देखिएको छ।
आज दिउँसो केही ठाउँमा मौसम सामान्य खुले पनि विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा हल्का वर्षासहित हिमपात भइरहेको छ। तराईका अधिकांश भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
गएराति काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षा भएको थियो। आज राति पनि देशभर आंशिक बदली रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षा र हिमपातका कारण नदीनालामा आकस्मिक बहाव, पहिरो, सडक तथा हवाई यातायातमा अवरोध, कृषि र पर्यटनमा असर पर्न सक्ने चेतावनी दिइएको छ।
त्यस्तै, भोलिदेखि शनिवार बिहानसम्म बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा पर्ने भएकाले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। प्राधिकरणले भोलि र पर्सि अनावश्यक यात्रा नगर्न, चिसोबाट बच्न तातो भएर बस्न, मौसमी सूचनाबारे निरन्तर जानकारी लिन र किसानलाई धान तथा अन्य बाली तत्काल भित्र्याउन सुझाव दिएको छ।
