धादिङ — धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं.१० स्थित जवाङ मौवाखोला सामुदायिक वनभित्र फैलिएको करिब १.८ हेक्टर क्षेत्रफलको पारिजात वन हाल संरक्षण, प्रचार र प्रवर्द्धनको चरणमा प्रवेश गरेको छ। जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस वनले धार्मिक आस्था र भविष्यको पर्यटकीय सम्भावनालाई समेत समेटेको छ।

जैविक सम्पदाको संरक्षणमा सरकारी सक्रियता:
डिभिजन वन कार्यालय, धादिङका प्रमुख विष्णु आचार्यको नेतृत्वमा उक्त वनको संरक्षणका लागि निरन्तर पहल भइरहेको छ। उहाँका अनुसार, यो वन केवल एकप्रकारको फूलले भरिएको ठाउँ मात्र होइन, स्थानीय जैविक प्रणालीको एउटा महत्त्वपूर्ण हिस्सा हो।पारिजात वनमा जैविक विविधता, वनस्पतिक महत्व, र पर्यावरणीय सन्तुलनका दृष्टिले उच्च सम्भावना छ। यो प्राकृतिक सम्पदा हो, जसलाई दीगो संरक्षणमार्फत स्थानीय जीवनस्तर सुधारमा समेत प्रयोग गर्न सकिन्छ।उहाँले हाल वनभित्र बिरुवा व्यवस्थापन, घेराबार र ट्रस निर्माण जस्ता पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। साथै, शिक्षा, धार्मिक भ्रमण र वन पर्यटनलाई लक्षित गरेर ‘पारिजात ट्रेल’ तथा पारिजात साहित्य उत्सव सम्मेलन गर्ने योजना समेत बनाइएको छ।

स्थानीय समुदायको सक्रिय सहभागिता:
जसरी सरकारी निकायबाट संरचनागत काम भइरहेका छन्, त्यसैगरी स्थानीय समुदायले आत्मीयतापूर्वक यो वनको संरक्षणमा सहभागीता जनाउँदै आएको छ।
स्थानीय हुमराज घले भन्छन्ः
हामीले पहिल्यै देखि देख्दै आएको वन हो,यसमा हामी पहिले घाँस काट्ने,थाङरा काट्ने गर्थे तर १ बर्षअघि देखि मात्र वन कार्यालयका सरहरुले संरक्षण गर्नुपर्छ भनेर यसको महत्व बुझाउनुभयो त्यहाँदेखि हामीले यसको संरक्षण गर्दे आएका छौँ ।”

धार्मिक र सांस्कृतिक महत्वः
पारिजात फूल हिन्दू धर्ममा पवित्र मानिन्छ। स्कन्ध पुराण र महाभारतमा उल्लेख अनुसार, यो फूल स्वर्गबाट पृथ्वीमा ल्याइएको मानिन्छ। कतिपय पण्डितहरूका अनुसार, पारिजात शान्ति, सौन्दर्य र अध्यात्मको प्रतीक हो।पारिजातको फूल शिव, विष्णु, र देवी पूजामा प्रयोग हुन्छ। यसले मानसिक शुद्धता र आत्मिक उन्नति दिन्छ भन्ने विश्वास रहिआएको छ।यस आधारमा, स्थानीयहरूले यो वनलाई धार्मिक भ्रमणस्थलका रूपमा विकास गर्ने सम्भावना देखिरहेका छन्।

पर्यटनको सम्भावना:
पारिजात फुल्ने बेला मौवाखोला क्षेत्र सेतो फूलले ढाकिएको दृश्य चित्रजस्तै सुन्दर देखिन्छ। यो दृश्यमा पर्यटकलाई लोभ्याउने शक्ति रहेको स्थानीयहरु बताउँछन्।

धादिङको दक्षिणी भेगमा चितवन र धादिङको सिमानामा यस्तो प्रकृतिसँग धार्मिक आस्था जोडिएको वन क्षेत्र दुर्लभ छ। यदि सहि व्यवस्थापन र प्रवर्द्धन भयो भने मौवाखोला पारिजात वन निकट भविष्यमै पर्यटन नक्शामा उभिन सक्ने सम्भावना देखिएको डिभिजन वन कार्यालय, धादिङका प्रमुख विष्णु प्रसाद आचार्यको भनाई छ ।
सकारात्मक धारणा, तर दीगो योजनाको खाँचोः
सरकारी, स्थानीय र धार्मिक समुदाय सबैले सकारात्मक सोचसाथ यो वनको महत्व बुझिरहेका छन्। तर दीगो योजना, बजेट र अन्तर–निकाय समन्वय बिना दीर्घकालीन सफलता सम्भव देखिन्न।

सामुदायिक नेतृत्व, सरकारी सहयोग, र पर्यटन पूर्वाधारको समन्वयले मात्र मौवाखोलाको पारिजात वनलाई धादिङको पहिचान बनाउने यात्रा सफल बनाउन सक्छ।जवाङ मौवाखोलाको पारिजात वन एक मात्र फूलहरूको बगैँचा होइन, यो हो धार्मिक, प्राकृतिक, र सामाजिक चेतनाको संगमस्थल।यदि हामी सबैले मिलेर यसको संरक्षण र प्रवर्द्धन गर्यौं भने आजको यो सानो पहल भोलिको ठूलो अवसर बन्न सक्छ ।

