आमाको मुख हेर्ने पर्व अर्थात् मातातीर्थ औंसीमा मिठाई किन्नेको भीड


  • दिव्यदर्शन
  • शनिबार, बैशाख १७ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,वैशाख १७ । जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिंदै शनिवार मुलुकभर मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

पौराणिक कालदेखि वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहानै नुहाएर आमाप्रति श्रद्धाभावका प्रकट गरि राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरु दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गर्ने गर्दछन् ।

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेर आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

आमाका लागि मिष्ठान्न भोजन किन्न शुक्रवारैदेखि मिठाई पसलहरु तथा फलफूल बजारमा सर्वसाधारणको भीड लागेको छ । मिठाई पसलहरुले पनि ग्राहक आकर्षित गर्न विभिन्न योजनाका साथ  मिठाईका विशेष प्रकारहरु तयार पारेका छन् ।

अहिले हरेक पर्वहरुमा केकको परम्परा बढ्दो छ , र यो पर्व पनि अछुतो रहन सकेको पाइदैन । केक पसलहरुलाई पनि यो दिन व्यक्तिगत, फोन, अनलाईन, फेसबुक जस्ता सामाजिक सञ्जालबाट यो दिन अर्डर लिन भ्याइ नभ्याइ हुने गरेको छ।

घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा जान नपाएकाहरुले टेलिफोन गरेरै वा पछिल्लो समयमा बढ्दो सूचना प्रविधिको विकासले भिडियो कल गरेर भएपनि आमालाई सम्झन्छने गर्दछन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web