काठमाडौं,वैशाख ७ । खर्च गरेर मंगलवारदेखि राष्ट्रिय कृषि गणना शुरू गरेको छ । वैशाख ६ देखि शुरू भएको कृषि गणना ४५ दिनसम्म चल्नेछ । कृषि गणनाले किसानका गुनासा, आवश्यकता र समस्या पहिचान गरी समाधानको बाटो खोज्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय जनगणना सकिएको करीब ६ महीनापछि केन्द्रीय तथ्यांक विभागले कृषि गणना शुरू गरेको हो । तथ्यांक संकलन, विश्लेषण, यसको तयारी, प्रश्नावली छपाइ, गणकको तलब सुविधा र अन्तिम नतिजा निकाल्ने बेलासम्ममा १ अर्ब रुपैयाँ खर्च हुने विभागले बताएको छ । तथ्यांक संकलनका लागि मात्रै करीब ७२ करोड रुपैयाँ खर्च हुने विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार विभागले ७ सय ५३ ओटै स्थानीय तहबाट कृषि गणना गर्नेछ । गणनापछि अहिले देशमा भएको कुल खेतीयोग्य जमीनको क्षेत्रफल, उत्पादन हुने मुख्य बालीनाली, पशुपन्छी गणना, खेतीयोग्य जमीनमा प्रयोग भइरहेको मल, बीउ, विषादीसम्मको तथ्यांक थाहा हुनेछ । त्यसैगरी, हालसम्म किसानको कृषि बीमादेखि कृषि ऋणसम्मको पहुँच, हरेक स्थानीय तहमा उपलब्ध कृषि संरचना, कृषि गतिविधि, कृषि प्रविधिको उपयोगसम्मको तथ्यांक पत्ता लाग्नेछ ।
तथ्यांक संकलनबाट कृषिको वर्तमान अवस्था थाहा पाइसकेपछि हाल कृषिक्षेत्रमा भइरहेका राम्रा पक्षलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउन र समस्या समाधानका लागि आवश्यक नीतिनियम तथा रणनीति तयार गर्न सहयोग पुग्ने कार्कीले बताए । यसबाहेक हालसम्म विभिन्न कृषक घरपरिवार र विभिन्न संघसंस्थाले कृषिक्षेत्रमा गरिरहेका कामको पहिचान गरी राम्रो काम गर्दै आएकालाई थप प्रोत्साहनका कार्यक्रम ल्याउन गणनाले सरकारलाई सहयोग गर्नेछ ।
सरकारले २०१८ सालदेखि नेपालमा कृषि गणना शुरू गरेको हो । त्यसपछिका १०/१० वर्षमा सरकारले कृषि गणना गर्दै आएको छ । विभागले दिएको जानकारीअनुसार तथ्यांक संकलनका लागि करीब ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरिवेक्षक फिल्डमा खटिएका छन् ।
गणकहरूले ३ लाख ५० हजार घरपरिवारलाई प्रतिनिधिमूलक घरका रूपमा छानेर गणना गर्नेछन् । जनणना गर्दा हरेक घरमा गणक पुग्ने भए पनि कृषि गणनामा नमूना छनोट गरी नमूना घरपरिवारको मात्रै गणना गरिन्छ । त्यसबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरी अन्तिम नतिजा निकालिन्छ । विभागले कृषि क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको तथ्यलाई ध्यानमा राखेर महिलाको अगुवाइमा भइरहेको खेतीपातीको विवरण छुट्टै संकलन गरिने बताएको छ ।