काठमाडौं,वैशाख ७ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई मन्त्री चौधरीले निर्देशन दिए ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेपछि मंगलवार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरूलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिए । ‘नेपाली सेनाको समेत सहयोग लिएर अवरोध पन्छाई चैतमै पानी काठमाडौंतर्फ पथान्तरण गरियो’ उनले भने, ‘घरघरमा धारामा पानी झरेपछि मात्र पथान्तरणको अर्थ हुन्छ, यसैले वैशाख ११ गते धारामा पानी वितरण गर्ने गरी प्रशोधनलगायत वितरण प्रणालीका काम गर्नुस् ।’
संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न पनि मन्त्री चौधरीले निर्देशन दिए । मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका स्थानमा सडक विभागसँग समन्वय गरेर मर्मतसम्भार गरी सडक पुनर्निर्माण गरिने बताए ।
काठमाडौँ उपत्यकामा हाल तीन लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप एक लाख ६० हजार धारा निर्माण गरिएको उनले बताए ।
मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी सोमवार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो । सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ । भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने गरी तयारी गरिएको छ । यसअघि राजधानी आइपुगेको पानी गत वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो । मेलम्ची आयोजनाले अहिले अस्थायी रूपमा पानी ल्याउन लागेको हो । आर्थिक अभियानबाट