९ महीनामा २ लाख १४ हजार लिटर मही आयात


  • दिव्यदर्शन
  • बुधबार, बैशाख १४ २०७९
  • पढ्न लाग्ने समय 2 मिनेट

काठमाडौं,वैशाख १४ । घरैमा गाईभैंसी पालेर दूध, दही, मही, घिउ जस्ता दुग्धपदार्थ उपभोग गर्ने चलन रहेको नेपालमा पछिल्लो समय मही पनि विदेशबाटै आयात हुन थालेको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को ९ महीना (साउन–चैत) मा नेपालीले २ लाख १४ हजार लिटर मही विदेशबाट आयात गरेर पिएका छन् । नेपाल कृषिप्रधान देश मानिन्छ । ६५ प्रतिशत मानिस कृषिमा संलग्न रहेको सरकारी तथ्यांक छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान २७ प्रतिशत बराबर छ । तर, महीसमेत आयात भएको तथ्यले नेपालको परनिर्भरताको स्तर देखाएको छ ।

विभागका अनुसार उक्त अवधिमा ३ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकम मही आयातका लागि विदेशिएको छ । मही आयातबाट सरकारले १ करोड ८ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी बटर मिल्क ११ हजार ८७५ लिटर आयात भएको छ । स्वादिलो दूध र क्रिम २ हजार ८२१ लिटर, हल्का दुग्धजन्य पदार्थ ९२ हजार २७६ लिटर आयात भएको छ । दूध पाउडर ५ लाख ३६ हजार १०० लिटर, बच्चालाई खुवाउने दूध २ लाख ४० हजार ७२० लिटर, दूध र क्रिम पाउडर फरकफरक प्रकारका गरी १५ हजार लिटरभन्दा बढी आयात भएको तथ्यांक छ ।

त्यस्तै, बच्चालाई खुवाउने प्रशोधित दूध ३ लाख ७१ हजार ८९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याट कन्टेन्ट) २ हजार ५३८ लिटर तथा दूध र क्रिम ३९ लिटर आयात भएको छ । विभागका अनुसार उक्त अवधिमा १ अर्ब ७ करोड १९ लाख रुपैयाँ बराबरको दूध तथा दुग्धजन्य पदार्थ आयात भएको छ ।
त्यसैगरी, स्वादिष्ट र महँगो मानिने सालमन माछा पनि आयात भएको छ । प्रशान्त महासागरमा पाइने उक्त माछा संसारभर लोकप्रिय छ ।

चालू आवको ९ महीनामा २ हजार ७१८ किलो सालमन माछा आयात भएको छ । उक्त माछाको अन्य प्रकारसमेत गरी ५ हजार ९५० किलो आयात भएको छ । ती माछा आयातमा १ करोड ९१ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

उक्त अवधिमा १ हजार ८०० किलो गँगटा विदेशबाट आएको छ । गँगटा आयात गर्न १२ लाख ८२ हजार रुपैयाँ बाहिरिएको छ । विभागका अनुसार गत साउनदेखि चैतसम्ममा २ लाख ९५ हजार ६१ किलो सुक्खा माछा आयात भएको छ । सुक्खा माछा आयातमा ९ करोड ६६ लाख रुपैयाँ विदेशिएको छ । नेपालमा बढी मात्रामा आयात हुनेमा क्याटफिस पनि छ । ९ महीनाको अवधिमा ३ लाख ४८ हजार ७५० किलो क्याटफिस आयात भएको छ । यसको आयात मूल्य ८ करोड ३९ लाख रुपैयाँभन्दा बढी छ ।

माछाको मासु ८ हजार किलो त्यस्तो आयात भएको छ । त्यसका लागि १८ लाख ८७ हजार रुपैयाँ बाहिरिएको छ । टुनाफिस ९ सय १० किलो आएको छ । यसको मूल्य झन्डै २२ लाख रुपैयाँ छ । सरकारले जोन नै तय गरेर कृषि उत्पादन बढाउने र पशुपालनमा सर्वसाधारणलाई प्रेरित गर्ने नीति लिए पनि त्यसले खासै नतीजा दिन नसक्दा स्वदेशमै उत्पादन गर्न सकिने कृषि र पशुजन्य उत्पादनको आयात बढ्न थालेको सरोकारवाला बताउँछन् । आर्थिक अभियानबाट

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web