धादिङ— नीलकण्ठ नगरपालिकाले नगरपालिकाको पुरानो भवनलाई व्यवस्थित गरी आधुनिक पुस्तकालय स्थापना गर्ने घोषणा गरेको छ। शनिबार नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सभालाई सम्बोधन गर्दै मेयर भीमप्रसाद ढुंगानाले नयाँ प्रशासनिक भवनमा कार्यालय सरेपछि हालको भवनको तल्लो तलामा पुस्तकालय सञ्चालन गरिने जानकारी दिनुभयो।
मेयर ढुंगानाले विकास भनेको भौतिक संरचना मात्र नभई शिक्षा र बौद्धिक क्षेत्रमा लगानी पनि भएको उल्लेख गर्दै नीलकण्ठ नगरपालिकाले कुल बजेटको ४५ प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा खर्च गर्दै आएको बताउनुभयो। यसले दीर्घकालीन रूपमा सकारात्मक परिवर्तन ल्याउने उहाँको भनाइ छ।
उहाँले नीलकण्ठ प्रज्ञा प्रतिष्ठानलाई समावेशी र सशक्त बनाउँदै कला, साहित्य र संस्कृतिको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। साथै प्रतिष्ठानलाई राजनीतिक प्रभावबाट मुक्त राख्न आग्रह गर्नुभयो।
नीलकण्ठ प्रज्ञा–प्रतिष्ठान ऐन २०७९ अनुसार स्थापना भएको प्रतिष्ठानले स्थानीय बौद्धिक अभ्यास, सिर्जना तथा ऐतिहासिक सम्पदाको अभिलेखीकरण गर्दै आएको छ।
photo:trikonkhabar
