धादिङमा मा.वि.स्तरीय विज्ञान प्रदर्शनी,बेनीघाटको बागेश्वरी माध्यमिक विद्यालय प्रथम


  • दिव्यदर्शन
  • शुक्रबार, पुष ४ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ– जिल्लामा विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको विकास गर्ने उद्देश्यसहित शिक्षा विकास तथा समन्वय इकाई धादिङद्वारा आयोजित माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भूमिलाल सुबेदीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान बि.क.रहनुभएको थियो भने प्रमुख जिल्ला अधिकारी विजयराज सुबेदी, नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक डा. मुरारी अधिकारी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनी कार्यक्रममा जिल्लाभरिका जम्मा ११ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। सहभागी विद्यालयका विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विविध सिर्जनात्मक परियोजना तथा प्रयोगात्मक सामग्रीहरू प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। यसले विद्यार्थीहरूमा अनुसन्धानमूलक सिकाइ, व्यवहारिक ज्ञान र वैज्ञानिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उपस्थित अतिथिहरूले बताएका छन्।

प्रतियोगितात्मक मूल्याङ्कनको आधारमा बेनीघाट रोराङ गाउँपालिकाको बागेश्वरी माध्यमिक विद्यालय प्रथम,नीलकण्ठ नगरपालिकाको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय द्वितीय,सिद्धलेक गाउँपालिकाको सत्यवती माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्।

प्रथम हुने विद्यालयलाई नगद रु। ६ हजार, द्वितीयलाई नगद रु। ५ हजार र तृतीय हुने विद्यालयलाई नगद रु। ४ हजार सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै अतिथिहरूले यस्ता विज्ञान प्रदर्शनीहरूले विद्यार्थीहरूलाई किताबमुखी शिक्षाबाट बाहिर निकाल्दै व्यवहारिक र जीवनोपयोगी ज्ञानतर्फ प्रेरित गर्ने बताए। शिक्षा विकास तथा समन्वय इकाई धादिङले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा गुणस्तरीय शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यस प्रकारका कार्यक्रमहरूले धादिङ जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै वैज्ञानिक सोच भएको सक्षम जनशक्ति उत्पादनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web